बारा, ४ जेठ ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेश प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमा बढुवा भएका छन्। बढुवासँगै सोमबार आयोजित एक विशेष कार्यक्रममा उहाँलाई दर्जायानी चिन्ह सुशोभन गरिएको छ।
नेपाल सरकार गृह मन्त्रालयको मिति २०८३ वैशाख ३१ गतेको सचिवस्तरीय निर्णय तथा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको च.नं. ७०६२, मिति २०८३।०१।३१ गतेको पत्रादेशअनुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका दिवाकर गणेशलाई जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले दर्जायानी चिन्ह सुशोभन गर्नुभएको हो।
कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। बढुवासँगै डिएसपी गणेशलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
नेपाल प्रहरी संगठनमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएका गणेशको बढुवाले संगठनभित्र थप उत्साह र प्रेरणा थपिएको प्रहरी स्रोतले जनाएको छ।
