बोक्सी आरोपमा वृद्धामाथि कुटपिट गर्ने ३ महिला पक्राउ

समाचार

वीरगञ्ज, ५ जेठ । पर्साको वीरगञ्ज महानगरपालिका–३२ चोर्नी टोलमा एक वृद्धामाथि बोक्सी आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२ फागुन २७ गते बिहान करिब ११ः३० बजे गहुँबारीमा बाली हेर्न गएकी वीरगञ्ज–३२ निवासी ७२ वर्षीया वृद्धालाई स्थानीय केही महिलाले बाटो छेकी जबर्जस्ती आफ्नो घर आँगनमा लगेर “भूत–प्रेत लगाएर बिरामी पारेको” भन्दै गालीगलौज तथा चप्पलले कुटपिट गरेका थिए।

पीडित वृद्धाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न तीन महिलालाई मंगलबार वीरगञ्ज महानगरपालिका–८ घण्टाघर क्षेत्रमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा वीरगञ्ज–३२ चोर्नी निवासी ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानामति देवी तथा ५४ वर्षीया शान्ति देवी धानुक रहेका छन्।

पक्राउ परेका तीनै जनाविरुद्ध बोक्सी आरोप (कसूर र सजाय) ऐन, २०७२ अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *