Lवीरगञ्ज, जेठ १७ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण तथा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायसँग माग गरेको छ। पछिल्ला दिनहरूमा वीरगञ्जसहित देशका विभिन्न स्थानमा सञ्चालित बजार अनुगमन तथा खाद्य स्वच्छतासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मञ्चले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि कडा निगरानी आवश्यक रहेको बताएको हो।
आइतबार जारी प्रेस विज्ञप्तिमा मञ्चले उपभोक्तालाई सचेत बनाउने उद्देश्यले सञ्चारमाध्यमहरूले निरन्तर समाचार सम्प्रेषण गरिरहेकोप्रति धन्यवाद व्यक्त गरेको छ। तर खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सम्बन्धित सरकारी निकायको भएकाले उनीहरूले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा स्वस्थ, सुरक्षित तथा गुणस्तरीय खाद्यवस्तु प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खाद्यवस्तुको उत्पादन, परीक्षण, अनुगमन र गुणस्तर नियन्त्रण गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुर तथा त्यसअन्तर्गतका कार्यालयहरूको रहेको स्मरण गराइएको छ। बजारमा मापदण्डविपरीत र गुणस्तरहीन खाद्य सामग्री बिक्री–वितरण भइरहेका घटनाहरू देखिँदै गएको अवस्थामा नियमित तथा प्रभावकारी अनुगमन अपरिहार्य भएको मञ्चको भनाइ छ।
मञ्चले उपभोक्ता सचेतना कार्यक्रम विस्तार हुँदै जाँदा बजारमा पारदर्शिता, जवाफदेहिता र प्रतिस्पर्धात्मक वातावरण पनि सुदृढ हुने विश्वास व्यक्त गरेको छ। खाद्य स्वच्छता कायम राख्न सरकारी निकाय, व्यवसायी र उपभोक्ताबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै अनुगमनलाई केवल औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन आग्रह गरिएको छ।
त्यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गर्दै आएको ‘मोबाइल ल्याब भ्यान’ कार्यक्रमलाई मधेश प्रदेशका आठवटै जिल्लामा कम्तीमा १० देखि १२ दिनसम्म सञ्चालन गरी खाद्यवस्तुको गुणस्तर परीक्षण र जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने माग पनि मञ्चले गरेको छ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष सुनील कुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपभोक्ताको स्वास्थ्य, सुरक्षा र अधिकार संरक्षणका लागि बजार अनुगमनलाई थप प्रभावकारी, नियमित र पारदर्शी बनाउन सरोकारवाला निकायलाई विशेष आग्रह गरिएको छ। मञ्चले प्रभावकारी अनुगमन र गुणस्तर नियन्त्रणबाट मात्र उपभोक्ताले सुरक्षित खाद्यवस्तु प्राप्त गर्न सक्ने तथा बजारमा अनुशासन कायम हुने विश्वास व्यक्त गरेको छ।
