पर्सा, जेठ १९ ।
जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको तस्करी नियन्त्रण अभियानअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताले ठूलो परिमाणमा भन्सार छली गरी नेपाल भित्र्याइएका कपडा बरामद गर्दै तस्करीको नयाँ शैली उजागर गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक को निर्देशनमा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी को कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कारबाही गर्दै भन्सार छली गरी ल्याइएका सर्टिङ–सुटिङका कपडा, ३ वटा टाँगा तथा चालकलाई नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीका अनुसार तस्करहरूले भन्सार छली गरी भारतबाट ल्याइएका कपडाहरूलाई शंकास्पद नदेखिने गरी टाँगाको संरचनाभित्र विशेष रूपमा तयार गरिएको ‘फल्स बटन’ (गोप्य खण्ड) मा लुकाएर ओसारपसार गरिरहेका थिए। बाहिरबाट सामान्य यात्रुवाहक टाँगा जस्तै देखिने सवारीभित्र कपडा लुकाइएकाले तस्करहरूले सुरक्षा निकायको निगरानी छल्ने प्रयास गरेका थिए।
तर, प्राप्त गोप्य सूचनाको आधारमा निगरानी बढाएको प्रहरीले शंकास्पद टाँगाको जाँच गर्दा लुकाइएका कपडाहरू फेला पारेको हो। बरामद गरिएका सर्टिङ–सुटिङका कपडाको अनुमानित मूल्य करिब रु. २ लाख ५० हजार रहेको प्रहरीले जनाएको छ।
यससँगै कपडा ओसारपसारमा प्रयोग गरिएका टाँगा तथा चालकहरूलाई समेत नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बरामद सामान थप अनुसन्धान तथा राजस्व सम्बन्धी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
पछिल्लो समय पर्सा–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका अवैध सामान तस्करी गर्ने समूहहरूले नयाँ–नयाँ तरिका अपनाउन थालेका छन्। कहिले सवारी साधनमा गोप्य खण्ड बनाएर, कहिले यात्रु वा भरियाको प्रयोग गरेर सामान भित्र्याउने प्रयास भइरहेका बेला प्रहरीले पनि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएको छ।
प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा पर्सा प्रहरीले लागूऔषध, भन्सार छली, अवैध कारोबार तथा सीमा अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर निरन्तर अभियान सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत बिर्ता प्रहरीले गरेको यो कारबाहीलाई तस्करी नियन्त्रणतर्फको अर्को महत्वपूर्ण सफलता मानिएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध सूचना दिन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता कार्यमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
