वीरगञ्ज, २७ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका अवैध सामान बरामद गरेको छ। पछिल्ला तीन दिनमा सञ्चालन गरिएको विभिन्न अपरेशनमार्फत सशस्त्र प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका किराना, कपडा तथा अन्य सामानहरू नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको जनाएको छ।
सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिँदै वीरगञ्जस्थित सशस्त्र प्रहरी बल गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीले सीमावर्ती क्षेत्रमा विशेष निगरानी तथा अपरेशनलाई प्रभावकारी रूपमा अघि बढाएका छन्। उनको कमाण्डमा खटिएका टोलीहरूले लगातार सफलता हासिल गरिरहेका छन्।
सशस्त्र प्रहरी बल गुल्म वीरगञ्जबाट खटिएको टोलीले जेठ २५ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित रजक जयन्ती चोक क्षेत्रमा भारतबाट नेपालतर्फ टाँगामा लोड गरी ल्याइँदै गरेको विभिन्न अवैध सामान नियन्त्रणमा लिएको थियो। प्रहरी टोलीलाई देख्नासाथ सामान ल्याइरहेका व्यक्ति फरार भएका थिए। उक्त टाँगामा रहेका सामानहरूको अनुमानित मूल्य १ लाख ११ हजार ६ सय ६० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान तथा टाँगा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसै दिन वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट नजिकको चेकजाँच बिन्दुभन्दा करिब ५० मिटर उत्तरतर्फ सशस्त्र प्रहरी टोलीले अर्को सफलता हात पारेको थियो। भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ना.१४ प ८०७९ नम्बरको मोटरसाइकलमा लोड गरिएका मोविल तथा किराना सामान बरामद गरिएको थियो। प्रहरी टोलीको उपस्थितिपछि सामान ल्याउने व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए।
उक्त सामान र मोटरसाइकलसहित जम्मा १ लाख ५४ हजार ८ सय ९० रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा लिइएको थियो।

यसैक्रममा जेठ २६ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य क्षेत्रमा गरिएको विशेष निगरानीका क्रममा सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ना.२ ह ३२४१ नम्बरको अटो नियन्त्रणमा लिएको थियो। अटोमा लोड गरिएको किराना तथा कपडा सामग्रीसहित अटोको कुल मूल्य ४ लाख ४२ हजार रुपैयाँ रहेको बताइएको छ। बरामद सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको पछिल्लो सक्रियताले सीमावर्ती क्षेत्रमा अवैध कारोबारमा संलग्न तस्करहरूमा त्रास फैलिएको स्थानीय स्रोतहरू बताउँछन्। पर्सा–वीरगञ्ज नाकामा निरन्तर निगरानी, गस्ती तथा आकस्मिक चेकजाँचलाई तीव्र बनाइएपछि तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भइरहेको सुरक्षा अधिकारीहरूको दाबी छ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साले सीमा क्षेत्रलाई सुरक्षित र तस्करीमुक्त बनाउन अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ। सीमावर्ती क्षेत्रबाट हुने राजस्व चुहावट रोक्न तथा अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीको निगरानी र कारबाही आगामी दिनमा अझ कडा बनाइने सुरक्षा अधिकारीहरूले बताएका छन्।
