वीरगञ्जमा अवैध ढाट सञ्चालनबारे फैलाइएका समाचार भ्रामक : पर्सा प्रहरी

समाचार

वीरगञ्ज, जेठ ३१।  जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा अवैध ढाट सञ्चालन भइरहेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित समाचार तथा सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा केही सामाजिक सञ्जाल, एमवाई टेलिभिजन तथा अनलाइन माध्यमहरूमा प्रकाशित सामग्री तथ्यहीन, भ्रामक र आधारहीन रहेको उल्लेख गरिएको छ।
प्रहरीका अनुसार सवारी कर सम्बन्धी जाँच तथा असुली कार्य पूर्ण रूपमा बन्द गरिएको छ। यस्तै कवाडी कर सम्बन्धी विषयमा सम्मानित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट २०८३ जेठ २० गते जारी आदेशअनुसार २०८३ असार मसान्तसम्म कुनै बाधा–अवरोध नगर्न निर्देशन दिइएको छ।

विज्ञप्तिमा सम्बन्धित निकायहरूसँग समन्वय गरी वास्तविक अवस्था बुझ्ने, कानुन विपरीत कुनै गतिविधि भए–नभएको विषयमा अनुसन्धान तथा निगरानी कार्य निरन्तर सञ्चालन भइरहेको जनाइएको छ।

प्रहरीले पुष्टि नभएका सूचना र आधारहीन आरोप सार्वजनिक गरी आम नागरिकमा भ्रम सिर्जना नगर्न सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता भ्रामक सूचनाले जिल्लाको शान्ति सुरक्षा व्यवस्थामा नकारात्मक असर पर्न सक्ने भएकाले जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न समेत अपिल गरिएको छ।

साथै, कानुन विपरीत कुनै गतिविधि सञ्चालन भइरहेको सम्बन्धमा कसैसँग विश्वसनीय सूचना वा प्रमाण भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरिएको छ। प्राप्त सूचना तथा प्रमाणका आधारमा कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *