विद्युत् सर्ट हुँदा बाराको सिम्रौनगढमा घरमा आगलागी 

समाचार

बारा, ६ असार । बाराको सिम्रौनगढ नगरपालिकामा विद्युत् तार सर्ट भई भएको आगलागीबाट एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार दिउँसो करिब १ बजे सिम्रौनगढ नगरपालिका–१ ढाँट गाउँ निवासी जलेन्द्र मुखियाको खरले छाएको फुसको भान्सा कोठामा विद्युत् तार सर्ट भई आगलागी भएको हो। आगलागीका कारण घरभित्र रहेका कपडा, दाउरा, भाँडाकुँडा लगायतका सामग्री जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार आगलागीबाट करिब ३५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन।

स्थानीय बासिन्दा, दमकल तथा प्रहरीको संयुक्त प्रयासमा आगो करिब ३० मिनेटपछि दिउँसो १ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पथलवाघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएर आवश्यक उद्धार तथा सुरक्षा व्यवस्थापन गरेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा विद्युत् तार तथा विद्युतीय उपकरणहरूको नियमित जाँच गरी सम्भावित आगलागीजन्य जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *