वीरगञ्ज, ३ साउन । वीरगञ्ज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि बन्द भएर विवादमा रहेको ढल निकास (नाला) अन्ततः खुलाइएको छ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सक्रिय पहलमा नगर प्रहरी, सरसफाइ टोली र जेसीबी परिचालन गरी दुई दिनमै समस्या समाधान गरिएको हो।
वर्षायाममा पानी निकास अवरुद्ध हुँदा सबैठवा क्षेत्र वर्षेनी जलमग्न हुने, सडक डुबानमा पर्ने र स्थानीय बासिन्दाले सास्ती भोग्दै आएका थिए। लामो समयदेखि होम पाइप जाम भएर पानीको बहाव रोकिएपछि स्थानीयले कार्यवाहक नगर प्रमुख आलमसमक्ष नाला खुलाइदिन आग्रह गरेका थिए।
जनगुनासो प्राप्त हुनासाथ कार्यवाहक नगर प्रमुख आलमले महानगरको सरसफाइ शाखालाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका थिए। निर्देशनपछि सरसफाइ शाखाका प्रमुख सरफोदिन मियाँ नगर प्रहरीको टोलीसहित घटनास्थल पुगेर जेसीबी र सरसफाइ उपकरण प्रयोग गर्दै बन्द भएको होम पाइप खुलाएका थिए।
चार वर्षदेखि समाधान हुन नसकेको समस्या दुई दिनमै टुंगिएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्। नाला सञ्चालनमा आएपछि वर्षाको पानी सहज रूपमा बग्न थालेको र अब सामान्य वर्षामै सडक डुबान हुने समस्या हट्ने विश्वास स्थानीयको छ।
स्थानीयवासीले कार्यवाहक नगर प्रमुख आलमप्रति आभार व्यक्त गर्दै जनताको समस्या सुनेर तत्काल काम गर्ने शैलीको प्रशंसा गरेका छन्। एक स्थानीयले भने, “इच्छाशक्ति हुने हो भने वर्षौं पुरानो समस्या पनि छोटो समयमै समाधान गर्न सकिन्छ भन्ने उदाहरण कार्यवाहक मेयरले देखाइदिनुभएको छ।”
महानगरपालिकाका अनुसार वर्षायाममा डुबान र जलनिकासका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै अन्य जोखिमयुक्त क्षेत्रमा पनि यस्तै अभियानलाई निरन्तरता दिइनेछ।
