क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आरोपमा ८ जना नियन्त्रणमा

समाचार

वीरगञ्ज,२१ भदौ  । वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ साल भदौ २० गते राति करिब १०ः३० बजे वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (Casino) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको अवस्थामा चार जना जुवा खेल्ने व्यक्ति र चार जना क्यासिनोका कर्मचारी गरी ८ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका जुवा खेल्ने व्यक्तिहरूमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव र ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा तथा स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेल रहेका छन्।

त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारीहरू वीरगञ्ज–१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ घर भई हाल क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने तथा खेलाउने गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *