सीमा अपराध र चोरी–तस्करी नियन्त्रणमा ‘शून्य सहनशीलता’ अपनाउन बाहिनीपति भट्टको कडा निर्देशन

समाचार

बारा, भदौ ३०। खुला सीमाको फाइदा उठाउँदै हुने चोरी–पैठारी, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा थप कडाइ गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले मातहतका कमाण्डर तथा सशस्त्र प्रहरी कर्मचारीलाई कडा निर्देशन दिनुभएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको भदौ २९ गतेको निरीक्षण भ्रमणका क्रममा डीआईजी भट्टले सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रणमा ‘शून्य सहनशीलता’को नीति अवलम्बन गर्दै परिणाममुखी रूपमा काम गर्न निर्देशन दिनुभएको हो।

निरीक्षणका क्रममा उहाँले गणको समग्र सुरक्षा अवस्था, सीमा क्षेत्रमा भइरहेको परिचालन, अपराध नियन्त्रण तथा चोरी–तस्करी नियन्त्रणका लागि भइरहेका गतिविधिबारे जानकारी लिनुभएको थियो। त्यस क्रममा खुला सीमाको दुरुपयोग गरी हुने चोरी–पैठारी, तस्करी, अवैध ओसारपसार, लागुऔषध, अवैध हातहतियार तथा प्रतिबन्धित वस्तुको कारोबार नियन्त्रणमा उच्च सतर्कता अपनाउन उहाँले निर्देशन दिनुभयो।

डीआईजी भट्टले सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणमा कुनै पनि प्रकारको कमजोरी, लापरबाही वा गैरव्यावसायिक व्यवहार स्वीकार्य नहुने स्पष्ट पार्दै मुख्य नाकासँगै संवेदनशील तथा तस्करीका सम्भावित मार्गहरूमा आकस्मिक गस्ती, चेकजाँच र निगरानीलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो।

उहाँले सीमा अपराध नियन्त्रणका लागि सूचना संकलन, विश्लेषण र परिचालनलाई प्राथमिकतामा राख्न कमाण्डरहरूलाई निर्देशन दिँदै तस्करीका सम्भावित मार्ग, अपराधमा संलग्न व्यक्ति तथा अवैध गतिविधिका केन्द्रमाथि निरन्तर निगरानी राख्न आग्रह गर्नुभयो। प्राप्त सूचनाका आधारमा तत्काल तथा परिणाममुखी कारबाही गर्नुपर्ने उहाँको जोड थियो।

त्यस्तै, सीमा अपराध तथा चोरी–तस्करी नियन्त्रणमा नेपाल प्रहरी, भन्सार कार्यालय, स्थानीय प्रशासन तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) लगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय, सहकार्य र सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउन पनि उहाँले निर्देशन दिनुभयो।

डीआईजी भट्टले सशस्त्र प्रहरी कर्मचारीलाई संगठनको नीति, निर्देशन तथा प्रचलित कानूनको पूर्ण पालना गर्दै निष्पक्ष, अनुशासित, इमानदार र व्यावसायिक ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। गैरकानुनी गतिविधिमा संलग्नता वा कर्तव्यमा लापरबाही गर्ने प्रवृत्ति कुनै पनि अवस्थामा सह्य नहुने उहाँले स्पष्ट पार्नुभयो।

उहाँले सीमा सुरक्षा केवल अपराध नियन्त्रणको विषय नभई राष्ट्रिय सुरक्षा, राजस्व संरक्षण, आर्थिक हित र नागरिक सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील जिम्मेवारी भएको उल्लेख गर्दै प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीलाई राष्ट्रसेवासँग जोडेर उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो।

निरीक्षणका क्रममा नं. १२ गण हे.क्वा. बाराका गणपति तथा मातहतका कमाण्डरहरूले आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा अवस्था, सीमा सुरक्षा व्यवस्थापन, अपराध तथा चोरी–तस्करी नियन्त्रणका लागि भइरहेको परिचालन र आगामी कार्ययोजनाबारे बाहिनीपति भट्टलाई जानकारी गराएका थिए।

बाहिनीपति भट्टको कडा निर्देशनसँगै बारा जिल्लाको सीमा क्षेत्रमा तस्करी, अवैध ओसारपसार तथा सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीको निगरानी, गस्ती र कारबाहीलाई थप प्रभावकारी बनाउने संकेत देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *