बारा,३१ भदौ ।
बाराको जितपुर सिमरामा एलपी ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मिति २०८३ भदौ ३० गते राति करिब ८ः३० बजे जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्प नजिकै वीरगञ्ज–पथलैया सडकखण्डमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार पूर्वतर्फको सर्भिस लेनबाट एक्सप्रेस–वेमा प्रवेश गर्दै गरेको ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको थियो। उपचारका क्रममा राति ९ः१० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ नगवा निवासी अन्दाजी ३५ वर्षीय रविन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ निवासी अन्दाजी ३० वर्षीय दिलीप चौधरी रहेका छन्। मोटरसाइकल चालक को थिए भन्ने हालसम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि शव नारायणी अस्पतालमै राखिएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा सोको (SOCO) सहित सात जनाको टोली खटिएको थियो।
प्रहरीले दुर्घटनामा संलग्न ना.३ ख ५६१० नम्बरको ट्रक र त्यसका चालक चितवन भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ। उनलाई प्रहरी चौकी परवानीपुर, बारामा राखिएकोमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल भने इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
