प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा २२ महिनादेखि फरार सशस्त्र प्रहरीका प्रनानि यादव हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ, गोली लागेर घाइते

समाचार

सिरहा,४ असोज  । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव निरीक्षक (प्रनानि) लक्ष्मण प्रसाद यादवको हत्या प्रकरणमा फरार रहेका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना घर भई हाल सिरहाको नवराजपुर गाउँपालिका–५ बस्ने ३७ वर्षीय मोहम्मद कुरवान मंसुरी रहेका छन्।

ज्यानसम्बन्धी कसुर (ज्यान मार्ने उद्योग तथा सवारी ज्यान) र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका मंसुरीलाई इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको टोलीले खोजतलासका क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार २०८१ मंसिर १६ गते बिहान करिब ३ बजे सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिक भारततर्फ ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको गोप्य सूचना पाएपछि सशस्त्र प्रहरीको बीओपी बडारीबाट प्रनानि लक्ष्मण प्रसाद यादवसहितको टोली खटिएको थियो।

टोलीले भारतीय नम्बर प्लेट DL 5 CJ 7171 को टाटा सफारी रोकी जाँच गर्न खोज्दा चालकले ड्युटीमा रहेका प्रनानि यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिई किचेको थियो। गम्भीर घाइते भएका यादवको सोही घटनामा मृत्यु भएको थियो।

घटनापछि फरार रहेका अभियुक्तहरूको खोजी तीव्र पारिएको थियो। सोही क्रममा २०८३ असोज ३ गते साँझ करिब ५ः१० बजे प्रहरी निरीक्षक मल्लको कमाण्डमा खटिएको टोलीले कुरवानलाई कचनारीस्थित नेपाल–भारत सीमा नजिक फेला पारेको थियो।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा कुरवानसहित तीन जनाको समूहले प्रहरी टोलीतर्फ लक्षित गरी एक राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि तीन राउण्ड जवाफी फायर गरेको थियो।

जवाफी फायरिङमा कुरवानको बायाँ हातको कुहिनो र दाहिने खुट्टाको घुँडामा गोली लागेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। घाइते कुरवानलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा ल्याइएको र उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा २२ महिनादेखि फरार मुख्य अभियुक्त पक्राउ

सशस्त्र प्रहरीका प्रनानि लक्ष्मण प्रसाद यादवको ज्यान गएको गम्भीर घटनाका मुख्य अभियुक्त लामो समयपछि पक्राउ पर्नुलाई प्रहरीले अनुसन्धानमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। पक्राउपछि घटनाको थप तथ्य, तस्करीको नेटवर्क तथा अन्य संलग्न व्यक्तिहरूबारे अनुसन्धान अघि बढाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *