बारा,१७ असोज । पचरौता नगरपालिका–६ पकडियास्थित एक गल्ला तथा खाद्यान्न भण्डारबाट अवैध रूपमा भण्डारण गरिएको ठूलो परिमाणको हरियो केराउ सशस्त्र प्रहरीले बरामद गरेको छ।
मिति २०८३ असोज १६ गते विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको नेतृत्वमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले पकडियास्थित सञ्चितानन्द रौनियारको रौनियार गल्ला तथा खाद्यान्न भण्डारमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उक्त भण्डारमा अवैध रूपमा भण्डारण गरिएको १६३ बोरा हरियो केराउ, कुल ८ हजार १५० किलोग्राम, बरामद भएको सशस्त्र प्रहरी बल नेपाल बाराले जनाएको छ।
बरामद केराउको अनुमानित मूल्य रु. ७ लाख ३३ हजार ५०० रहेको जनाइएको छ।
बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। पछिल्लो समय सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाउँदै आएको छ।
