वीरगञ्ज,११ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईको नेतृत्वमा फरार प्रतिवादी पक्राउ अभियानलाई थप प्रभावकारी बनाउँदै लगिएको छ। अदालतबाट फैसला भइसकेका मुद्दाका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले प्रहरीले जिल्लाका विभिन्न स्थानमा खोजतलास तथा पक्राउ अभियान सञ्चालन गरिरहेको छ।
प्रहरीका अनुसार पक्राउ परेका १२ जना प्रतिवादी विभिन्न मुद्दामा संलग्न रही कानुनी प्रक्रियाबाट फरार रहेका थिए। उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानले न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन, कानुनको कार्यान्वयन सुनिश्चित गर्न तथा अपराध नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
एसपी भट्टराईले पर्सा जिल्लामा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रियता बढाउँदै लगेका छन्।
पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ।
