काठमाडौं, १७ चैत । देशका विभिन्न स्थानबाट ६ जना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागऔषध खैरो हेरोइन २ ग्राम २८ मिलिग्रामसहित बर्दिया राजापुर नगरपालिका-१ झपही बस्ने २९ वर्षीय कृष्ण चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङकाे बेलबारी नगरपालिका-१० प्रगती टोलबाट नियन्त्रित लागुऔषध स्पासपेन ३ सय ८६ ट्याब्लेट, ट्रमाडोल ३ सय ५० ट्याब्लेट र अवैध लागुऔषध गाँजा ६ सय ११ ग्रामसहित कानेपोखरी गाउँपालिका-५ बस्ने २८ वर्षीय आशिस राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले प्र १-०२-०४० प ९३८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक राईलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी चोकबाट अवैध लागुऔषध गाँजा करिब २ किलोग्रामसहित सोही उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय सुशील थोकरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले गुम्बाचोकबाट हेटौंडा बजारतर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ह १८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
पर्साकाे वीरगञ्ज महानगरपालिका-३१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ झुलिटार बस्ने ४२ वर्षीय पासाङ लामा र चितवन राप्ती नगरपालिका-११ बस्ने २९ वर्षीय बुद्धिराज घलान रहेका छन् ।
प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले जितपुरबाट बडनिहारतर्फ जाँदै गरेको प्र.-२-०३-००१ ह २२७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
