पेरिस, १७ असार । फ्रान्सेली सहर नान्तेरेमा प्रहरी अधिकारीले गोली हानेका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ ।
नाहेलको अन्त्येष्टिमा ठूलो संख्यामा युवाहरुको सहभागिता थियो र आँसुका आँखाले बिदाइ गरेका थिए । मिडिया रिपोर्टका अनुसार सयौं युवाहरूको समूह मस्जिदबाट चिहानमा गएका थिए । यस अवधिमा मानिसहरूले ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका थिए।
गत जुन २७ मा अल्जेरियन मूलका १७ वर्षीय नाहेललाई पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए । नाहेलले कार चलाउँदै थिए, ट्राफिक सिग्नलमा रोकिँदा प्रहरी अधिकृतले उनको पछि लागे र छातीमा गोली हाने । नाहेलको हत्या गर्ने प्रहरी अधिकारी पछि पक्राउ परेका थिए ।
नाहेलको हत्यापछि फ्रान्सभर विरोध प्रदर्शन र दंगा भईरहेको छ । प्रदर्शनकारीहरूले सरकारी टाउन हल, विद्यालय र प्रहरी चौकीका साथै सुपरमार्केट जस्ता अन्य भवनहरूलाई पनि निशाना बनाईरहेका छन् । साथै सयौं सवारी साधनमा आगजनी गरिएको छ ।
फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार दंगामा संलग्न रहेको आरोपमा १ हजार ३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।
फ्रान्समा १७ वर्षीय बालक नाहेलको हत्याको पाँचौ दिनसम्म पनि हिंसा जारी छ ।
जसका कारण राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो जर्मनी भ्रमण स्थगित गरेका छन् । उनले जर्मन राष्ट्रपति फ्रान्क(वाल्टर स्टाइनमेयरसँग कुरा गरेपछि आफ्नो भ्रमण स्थगित भएको घोषणा गरे। उनी आइतबारदेखि तीन दिने जर्मनी भ्रमणमा जाँदै थिए ।
अर्कोतर्फ फ्रान्समा फैलिएको हिंसा बेल्जियमसम्म पुगेको छ। त्यहाँ भएका हिंसाहरूको तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।
राष्ट्रपति इमानुएल म्याक्रोनले बेलायती गायक एल्टन जोनको कन्सर्टको मजा लिइरहेको भिडियो सार्वजनिक भए पछि उनको ब्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसलाई राष्ट्रपतिको गैरजिम्मेवारपूर्ण व्यवहार भनेका छन् । सीएनएनका अनुसार बुधवार पेरिसमा एल्टनको कन्सर्ट थियो। म्याक्रोन त्यहाँ आफ्नी पत्नीसँग देखा परेका थिए।
एल्टनका पतिले म्याक्रोनसँग स्टेज पछाडि खिचिएको फोटो पनि पोस्ट गरे पछि राष्ट्रपतिको ब्यापक आलोचना सुरू भएको हो ।
आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले प्रदर्शनकारीले हालसम्म देशभर २ हजारभन्दा बढी कार जलाएका छन् । प्रदर्शनमा दुई सयभन्दा बढी प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीहरूले सात सयभन्दा बढी पसल, सुपरमार्केट, रेष्टुरेन्ट र बैंकमा आगजनी र तोडफोड गरेका छन् । चौथो दिन प्रहरीले १३ सय आन्दोलनकारीलाई पक्राउ गरेको छ । न्याय मन्त्री एरिक डुपोन्ट मोरेट्टीले भने, ‘पक्राउ परेका मध्ये ३० प्रतिशत १८ वर्ष मुनिका छन् ।
रोयटर्सका अनुसार स्थिति नियन्त्रण गर्न सडकमा ४५ हजार प्रहरीसहित सशस्त्र सवारीसाधन तैनाथ गरिएको छ। अल्जेरियन मुलका एक किशोरलाइ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर गोली चलाए पछि फ्रान्समा हिंसा फैलिएको हो । जुन अझै जारी छ ।
