गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने समूह पक्राउ

समाचार

काठमाडौं, २५ असार । प्रहरीले वैदेशिक रोजगारमा गएका कामदारलाई प्रयोग गर्दै गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै केही रकम र होटल खर्च दिएर वैदेशिक रोजगारबाट फर्कने कामदारलाई प्रयोग गरेर कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

 

पक्राउ पर्नेमा सप्तरीका विनोदकुमार साह र उनकी श्रीमती सन्जुकुमारी साह, धनुषाका सुनीलकमार महरा, सिराहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तुगुलाम मुराउ, धनुषाका नेशर पंजियार, बाँकेका भुमबहादुर वली रहेका छन्।

 

प्रहरीले दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव र निमाई साहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये विनोदकुमार साह र उनकी श्रीमतीले सिनामंगलमा होटल सञ्चालन गरेको र सुन संकलन गर्ने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी मनोज केसीले बताए।

 

सुन किन्ने, पैसा कतारमा व्यवस्थापन गर्ने काम शिवसुन्दर राउत गर्दै आएको प्रहरीको भनाइ छ। वैदेशिक रोजगारबाट स्वदेश फर्कँदा कामदारलाई प्रयोग गरेर ५० ग्रामका दरले सुन ल्याउन लगाउने र त्यसबापत केही रकम दिने अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

 

उक्त समूहले गएको चार वर्षमा मात्रै २ अर्ब ३७ करोड रुपैयाँ बढीको सुन तस्करी गरेको अनुसन्धानबाट देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। यस विषयमा विभिन्न कोणबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *