रसीद आलम, बारा,१५ असोज ।
बारामा धारिलो हतियार प्रहार गरी एक ब्यक्तिको हत्या भएको बारा प्रहरीले जनाएको छ।पचरौता नगरपालिका वडा न.१ पिपरपाती निवासी वर्ष ३५ को अमरेश सिंहको हत्याको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाराको पचरौता नगरपालिका वडा न. ०१ बस्ने वर्ष ३५ को सामलाली भन्ने श्याम लाल महतो (मुख्य अभियुक्त )सोही स्थानका उनका दुई जना छोरा वर्ष २० को जेठो छोरा अधेश कुमार र कान्छो छोरा धनेश कुमार महतो रहेका छन् ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै बारा प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेका अनुसार श्यामलाल र उनका दुई छोराहरूले मिलेर असोज ८ गते राति १२:३० बजेको समयमा सिंहको टाउकोमा धारिलो हतियारले प्रहार गरेर हिन्दी फिल्म दृश्यम शैलीमा हत्या गरेका थिए । प्रहरीलाई सिंहको शव पिपरपातीको नेपाल–भारत सीमा नजिकै फेला परेको थियो ।

प्रहरीका अनुसार सिंहको हत्यामा थप व्यक्ति पनि संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। उनको हत्या गर्ने योजनाकार मध्ये अहिले तिन जना फरार छन् ,उनीहरूकै सहयोगमा सिंहको हत्या भएको छ।
फरार रहेका पचरौता नगरपालिका वडा न. ०१ बस्ने श्याम लालको भाई झोझा भन्ने जागृत महतो, सोही बस्ने राजु शाह र भारत जिल्ला पुर्वि चम्पारण मोतिहारी ग्राम पञ्चायत झझरा बस्ने वर्ष २१ को राहुल साह कानुको खोजी कार्य जारी छ ।सिंहको हत्यामा प्रयोग गरिएको एक थान धारिलो हतियार दाब, एक थान चाक्कु र एउटा मोबाइलसमेत बरामद गरेको एसपी काफ्लेले बताए ।
हत्याको के कारण भएको ? संचारकर्मिहरुको प्रश्नको जवाफमा एसपी काफ्लेले भने “आफ्नो परिवारको एक जना सदस्यसँग अनैतिक (अवैध यौन) सम्बन्ध राखेको कारण सिंहको हत्या गरेको श्यामलाल र उनका दुवै जना छोराले प्रहरीलाई बयान दिएका छन् तथा आरोपि श्यामलालले आफ्नो परिवारको इज्जत जोगाउनका लागि योजना बनाएर हिन्दी फिल्म दृश्यम शैलीमा सिंहको हत्या गरिएको श्यामलालले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
हत्या गरिएका सिंह पूर्व सशस्त्र प्रहरी जवान हुन् ।
