पर्सा ,१० कार्तिक ।वीरगंज महानगरपालिका वार्ड नंबर ७ का वडाध्यक्ष हिराकाजी महर्जन माथि भएको कुटपिट र अपमानको घटनालाई लिएर नेपाली काङ्ग्रेस पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा आज ज्ञापनपत्र बुझाएको जानकारी गराएको छ।
नेपाली काङ्ग्रेसले बुझाएको ज्ञापनपत्र यस प्रकार छ :

नेपाली कांग्रेस
जिल्ला कार्य समिति, पर्सा
२०८०/०७/१०
पस
प्र. नं.
प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगंज,
विषय:- ज्ञापन पत्र
“उपरोक्त सम्बन्धमा पर्सा जिल्लाको शांति सुरक्षा व्यवस्थापनको सन्दर्भमा उत्पन्न जनगुनासो प्रति नेपाली कांग्रेस पर्साको गंभीर ध्यानाकर्षण भएको छ।
नेपाली कांग्रेस जनतासँग प्रत्यक्ष जोडिएको र जनताको सम्मान र सुरक्षाका लागि सदैव लडिरहने पार्टी हो। एउटा लोकतांत्रिक पार्टी भएको हुनाले जननिर्वाचित प्रतिनिधिको गरिमा र गुरुत्व कायम राख्न चाहन्छ । राज्यका अन्य निकायहरूबाट समेत यथोचित सम्मान र स्वीकार्यता प्राप्त हुनुपर्ने कुरामा दृढ मान्यता राख्दछ।
पछिल्लो आम निर्वाचन पछि नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा फेरि स्थापित भएको छ। यतिखेर संघीय र प्रदेश सरकारमा नेपाली कांग्रेसको सहयोग र समर्थनमा गठबंधनको सरकार छ। तर पनि पार्टीले पर्सा जिल्लाको सुरक्षा व्यवस्थापन तथा प्रहरीद्वारा आम नागरिक संग गर्ने व्यवहार प्रति असंतुष्टी राख्नु परिरहेको छ। पार्टीका कार्यकर्ता र आम नागरिकमा जिल्ला प्रहरी नेतृत्वको हठी रवैयाले निराश बनाएको छ। यो खेदपूर्ण अवस्था हो। पार्टी यस्तो अवस्थामा मौन रहन सक्दैन ।
पर्सा जिल्लाको सुरक्षा प्रशासन जड़तामा जकडिएको छ। यस्तो अवस्था पार्टीलाई स्वीकार्य छैन । यही २०८०/०७/०५ गते अष्टमीको दिन राति वीरगंज महानगरपालिका वार्ड नंबर ७ का वडाध्यक्ष श्री हिराकाजी महर्जन माथि नगवा प्रहरीका इन्चार्ज स ई रविन्द्र साह तुरहा ले अनाहक कुटपिट र अपमान गरेको घटनाले पार्टी स्तब्ध भएको छ।
वडाअध्यक्ष ज्यू रेल्वे रोड स्थित हनुमान मंदिर निर दुर्गा पूजा आराधना गरिरहेका भक्तजनहरूको कार्यमा उक्त सईले हस्तक्षेप गरेको र धार्मिक कार्यमा खलल पुर्याएको कार्य रोक्न आग्रह गरेका थिए। धार्मिक कार्यमा अवरोध नगर्न वडाध्यक्षले आग्रह गर्दा समेत सई तुरहाले त्यहां हुलहुज्जत र अनुचित वल प्रयोग गर्यो। हाल वडाध्यक्ष श्री महर्जनको उपचार भैरहेको छ। निजको आंखामा गंभीर चोट लागेको छ।
नेपाली कांग्रेस पर्सा यस गैरन्यायिक घटनाको घोर भर्त्सना गर्दछ। घटनाको निष्पक्ष छानविन गरि दोषी माथि कारवाई गर्न नेपाली कांग्रेस पर्सा जोड़दार मांग गर्दछ। पार्टी यसका लागि सात दिनको समय तोकेको छ। यदि एक साता भित्र न्याय भेटिएन र सुरक्षा नेतृत्वको रवैयामा सुधार आएन भने पार्टीको तर्फबाट चरणबद्ध दवावमूलक कार्यक्रम गरिने जानकारी गराउदछ।”
रामनारायण प्रसाद कुर्मी
कार्यवाहक सभापति
