दुर्गा प्रसाईको आन्दोलनमा कमल थापाको समर्थन, प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने।

राजनीति समाचार

काठमाडौं, ८ मंसिर  । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् ।

 

हिजो देखी काठमाडौंमा ‘ब्यवस्था बिरोधी’ आन्दोलन गरिरहेका प्रसाई नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन ।

‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु, राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु,’ थापाले भनेका छन्, ‘जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी शुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दछु।’

 

बिहिवार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणाम स्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुःख लागेको जनाउँदै उनले घाईतेहरुको शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन् ।

 

‘साथै, आगामी दिनहरुमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र बिद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकहरुमा अनुरोध गर्दछु,’ उनको आग्रह छ, ‘राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरु हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्छ।’

मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ ।

 

आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईले जनाएका छन् ।

 

‘ब्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौं’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।

 

हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईले भनेका छन,  ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो ब्यबस्था परिवर्तन गरिछाड्ने छौँ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरु बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *