फागुन १३ वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताका बारेमा सचेत हुनुका साथै अरुलाई पनि सचेत बनाई समाजलाई शान्त र सभ्य बनाउनुपर्ने प्रमुख सिंहको भनाई छ । वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजित हल्ट प्राईज वीरगञ्ज पब्लिक कलेज (बिपिसी) को समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख सिंहले वैभब वीरगञ्ज बनाउनका लागि ऊर्जाशिल एवम् सिर्जनशील युवाको महत्वपूर्ण भूमिका हुने बताए ।
उनले भने, ‘तपाई युवाहरु नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । त्यसैले हामी सबै मिलेर वीरगञ्जलाई बैभव बनाउने अभियालाई सफल पारौँ । हामीले गरीरहेका कामलाई अझै राम्रो र प्रभावकारी बनाउने खालका कुनै योजना छन् भने आउनुहोस् सहकार्य गरौँ ।’ २१ महिनाको अवधिमा आफुले महानगरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यको सुभारम्भ गरेको बताउँदै उनले आफ्नो कार्यकालमा वीरगञ्जको मुहार फेर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले जागिर खोज्ने भन्दा पनि रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यक्ता औँल्याए । उनले भने, ‘हामीले अब काम खोज्ने हैन काम दिने मान्छे बनाउनुपर्छ । कुनै पनि काम सानो ठूलो हुँदैन । मान्छेले के भन्लान् भनेर काम नगर्ने सोच र प्रवृतीलाई त्यागेर मेहनत र लगनमा विश्वास गरौँ ।’
साथै उनले वीरगञ्ज महानगर प्रमुख सिंहको नेतृत्वमा छोटो समयमा वीरगञ्जमा भएको परिवर्तनको प्रसंशा गरे । उनले भने, ‘कोही बाहिरबाट आउने अतिथीहरुलाई म वीरगञ्जमा एक रात बसाएर रातिको समयमा वीरगञ्ज घुमाएर पठाउँछु । त्यसपछि उहाँहरुले वीरगञ्ज परिवर्तन भएको आभाष गर्नुहुन्छ ।’ उनले थपे, ‘म आफै पनि मेयरको आकांक्षी थिए । यदि टिकट पाएर जितेको भएपनि अहिलेको जस्तो काम गर्न सक्ने थिएन ।’
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले यहाँका उद्योग व्यवसायमा आवश्यक पर्ने जनशक्ति बाहिरबाट बोलाउनुपर्ने बाध्यता रहेको बताए । उद्योग तथा कलकारखानाका लागि आवश्यक पर्ने जनशक्ति यहीँ उत्पादन गर्न सके कोही पनि बेरोजगार हुनुपर्ने अवस्था नआउने उनको जिकिर छ ।
त्यस्तै ,अलाईड युथ सोसाइटीले आयोजना गरेको छात्राहरुको अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगीताको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले आगामी चैतमा महानगरले एथ्लेटिक्स प्रतियोगीता आयोजना गर्न लागेको जानकारी गराए।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवा लक्षित योजनामा महानगरले जोड दिँदै आएको बताउनुभएको छ। देशका मेरुदण्ड मानिन युवाको विकासले नै देशको विकास हुने भएकाले युवासँग सम्बन्धित कार्यक्रम र योजनालाई प्राथमिकतामा राखिएको प्रमुख सिंहको भनाई छ।
पछिल्लो समयमा खेल क्षेत्रतर्फको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै वीरगञ्जबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजनाबमोजिम तयारी भइरहेको सिंहले बताए।
प्रयास गर्दै जाँदा हारजित तथा अन्य चुनौती आउनु स्वभाविक भएको बताउँदै उनले भने, ‘हिँड्ने मान्छेलाई नै ठेस लाग्छ र लड्छ। जो हिँड्दै हिँड्दैन, त्यो लड्दैन र जो लड्दैन उसले केही सिक्दैन। त्यसैले हरेस खाने हैन, लक्ष्य निर्धारण गरेर गन्तव्यमा नपुग्दा सम्म निरन्तर मेहनत गर्नुहोस्।’
अलाईड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झाको अध्यक्षतामा भएको समापन समारोहमा विजयी हुने गौतम माविलाई अवार्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । समापन समारोह अघि भएको फाइनल खेलमा दिल्ली पब्लिक स्कुललाई पराजित गर्दै गौतम स्कुल विजयी भएको हो।
३ दिनसम्म चलेको प्रतियोगीतामा वीरगञ्जका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगीतामा महेश सिंह धामीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
समापन समारोहको सहजीकरण मान्सी नेपालीले गरेकी थिइन्।