रसीद आलम ,बारा,१६ जेठ ।
बारा प्रहरीले नक्कली नेपाली नोट सहित चार जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नक्कली नोटको कारोबारमा संलग्न रहेका चार जना व्यक्तिहरूलाई सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वा सानो बसवरीया र ठुलो बसवरीयाबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २५ को राजन चौधरी,वडा नम्बर ५ बस्ने वर्ष १९ को आकाश चौधरी,रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ बस्ने महादेव साहको छोरा वर्ष १९ को मोहन कुमार साह र देश भारत, बिहार राज्य, जिल्ला मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा वडा नम्बर ७ बस्ने वर्ष ४० को महमद आलम रहेको प्रहरीले जनाएको छ।
उनिहरुको साथबाट नेपाली नक्कली नोट रू.१३ लाख १६ हजार बरामद भएको छ। साथै दुईवटा मोटरसाइकल र एकवटा साईकल समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने जानकारी दिएका छन् ।
बारा प्रहरीले पत्रकार सम्मेलनमा चारै जनालाई सार्वजनिक गर्दै बारा प्रहरीका एसपी महेन्द्र खड्काले मोहन कुमार साहलाई जेठ १४ गते बेलुका ४ बजेको समयमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ सानो बसवरीयाबाट बिआर ०६ ए डबलु २७५८ नम्बरको भारतीय मोटरसाइकलसहित नेपाली नक्कली नोट रू. एक हजारको ७०७ वटा जम्मा रू.७ लाख ७ हजार बरामद गरि नियन्त्रणमा लिएको बताएका छन् ।
त्यस्तै ,जेठ १५ गते बेलुका ४:१० बजेको समयमा भारतका महमद आलमलाई सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ ठुलो बसवरीयाबाट साईकलमा आउदै गरेको अवस्थामा नेपाली नक्कली नोट रू. एक हजारको ६०९ वटा जम्मा रू.६ लाख ९ हजार सहित पक्राउ गरिएको एसपी खड्काले जनाए।
