हत्या गरेको अभियोगमा आठ जना पक्राउ

समाचार

बिरगंज ,५ असार  । बैतडीको पाटन नगरपालिका-६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाटन नगरपालिका-६ पाटन बस्ने २६ वर्षीया भागरथी बिष्ट, सोही नगरपालिका-१ लदौरी बस्ने २० वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर रहेका छन् । भागरथीले शनिबार बीरभानको हत्या गरेको भन्ने खबरप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप सोधपुछको क्रममा भागरथीले बीरभानको हत्या गरी राजेन्द्र , ती किशोर र पाटन नगरपालिका-६ बस्ने ३० वर्षीय आशिष पहरीलाई शव जिम्मा लगाई सोही ठाउँस्थित घाङलखोलामा खसाल्न लगाएको भन्ने खुल्न आएपश्‍चात जिल्ला प्रहरी कार्यालय डडेल्धुरासँगको समन्वयमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ भत्काडाबाट राजेन्द्र र ती किशोरलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार आशिषको खोजी गरिरहेको छ ।

त्यस्तै सिराहाको धनगढीमाई नगरपालिका-१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा नरहा गाउँपालिका-१ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको भारतस्थित पिजिआई अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *