गौशाला धर्मशालाको विवाद अध्ययन गर्न मन्त्रालयले बनायो समिति

समाचार

काठमाडौँ ,५ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विवाद बारे अध्ययन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले धर्मशाला विवादको अध्ययन गरी प्रतिवेदन पेश गर्न यस मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखाका प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरेको हो ।

यस समितिका अन्य सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र यस मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहेका छन् ।

समितिलाई गौशाला/धर्मशालाको स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, गौशाला धर्मशालाको आय व्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्थाको अध्ययन गर्ने, अदालतबाट विभिन्न समयमा भएका आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न समयमा गठन भएका समितिका प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोष परिषद्का निर्णय तथा निर्देशन कार्यान्वयनको अवस्थाको अध्ययन गर्ने र गौशाला धर्मशाला रहेको जग्गाको स्वामित्वको अवस्थाका विषयमा अध्ययन गर्न कार्यादेश दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

समितिलाई विवरण सहितको प्रतिवेदन तीस दिन भित्र मन्त्री समक्ष पेश गर्न भनिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *