रसीद आलम,बिरगंज ,४ मंसिर ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ गादी थर्घटी टोल नजिकै रहेको जङ्गलको छेउमा सोमबार दिउँसो ३ बजे पर्सा राष्ट्रिय निकुञ्जबाट आएको बाघले बाख्राको झुन्डमाथि आक्रमण गरेको छ। यस आक्रमणमा १० वटा बाख्राको मृत्यु भएको छ भने केही घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाका अनुसार बाघले बाख्राको घाँटी टोकेर ज्यान लिएको हो। स्थानीयले होहल्ला गरेपछि बाघ घटना स्थलबाट भागेको थियो।
जङ्गल आसपास दाउरा तथा घाँस काट्न जाने स्थानियलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
