झापा, मंसिर ८ – खानेपानी मन्त्री प्रदीप यादवले झापा जिल्लाको मेचीनगर नगरपालिकामा रहेका चारआली साना सहरी तथा खानेपानी सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरूसँग भेटघाट गरी स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा मन्त्री यादवले यी संस्थाहरूले उपभोक्ताका लागि गरिरहेका उल्लेखनीय कार्य, सञ्चालन गरिएका कार्यक्रम, र भोगिरहेका चुनौतीहरूको जानकारी लिनुभएको छ।

मन्त्री यादवले झापामा निर्माण तथा सञ्चालनमा रहेका दिसाजन्य लेदो व्यवस्थापन र खानेपानी आपूर्ति तथा सरसफाइ व्यवस्थापन परियोजनाहरूको प्रगतिलाई नजिकबाट अवलोकन गर्नुभएको छ।
मोरङ जिल्लाका विभिन्न खानेपानी परियोजनाहरूको समेत निरीक्षण गर्नुहुँदै उहाँले खानेपानी आपूर्ति सुधारका लागि मन्त्रालयको प्रतिबद्धता दोहोऱ्याउनुभएको छ। मन्त्री यादवले सबै नागरिकलाई गुणस्तरीय र सुविधायुक्त खानेपानी सेवा पुर्याउने सरकारको दायित्व रहेको बताउँदै यसका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
