बिरगंज ,५ माघ।
जनता समाजवादी पार्टी (जसपा) पर्सा जिल्ला कार्य समितिले बिरगंजको टाउनहलमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा आज लोसपा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, विकास चौधरी, अशोक पटेलको नेतृत्वमा सयौं कार्यकर्ताहरूले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन्।

जिल्ला अध्यक्ष सिंगासन साह तेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष तथा संघीय सांसद अशोककुमार राई प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा संघीय सांसद सुशीला श्रेष्ठ, पार्टीका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव, बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, केन्द्रीय सदस्यहरू मोहन चौधरी, जनार्दन यादव, पारस साह, जिल्ला समन्वय समितिका सभापति निरन्जन सोनार, पार्टीका नेताहरू प्रेमबाबु पटेल, तबरेज अहमद, मुकेश द्विवेदी र भीमा यादवको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण जिल्ला सचिव उमेशलाल सहनीले गर्नुभएको थियो।
