वीरगञ्ज, ११ फागुन ।
वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित क्लासिक ब्याङ्क्वेटमा ‘मर्यादित होटल व्यवसाय सञ्चालनमा व्यवसायी र प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ पर्साको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिकाभित्र संचालित आवासीय होटल तथा स्पा केन्द्रहरूलाई मर्यादित रूपमा व्यवसाय सञ्चालन एवं प्रवर्द्धनका लागि महत्वपूर्ण छलफल गरिएको थियो।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, प्रहरी नायव उपरीक्षक सुवास भट्ट, होटल तथा पर्यटन व्यवसायी संघका प्रमुख हरि पन्त, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रतिनिधिहरू, विभिन्न होटल व्यवसायका सञ्चालक तथा कर्मचारीहरू र स्थानीय बासिन्दा गरी करिब ११५ जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा व्यवसायी र प्रहरीबीच आपसी सहकार्य, होटल तथा स्पा केन्द्रहरूको मर्यादित सञ्चालन, सुरक्षाका उपायहरू, पर्यटकको सुरक्षामा ध्यान दिने विषयमा व्यापक छलफल भएको आयोजकले जनाएको छ।
