पर्सा, फागुन १९ ।
पर्सा जिल्लाको बीरगंज महानगरपालिका-१५ स्थित लक्षमणवा र भेडियाहीको बीचमा लुकाइ राखिएका करीब चार लाख रुपैयाँ बराबरका पितलका भाडाकुँडा प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले सोमबार बिहान करिब ६:३० बजे बागमती प्रदेश ०३-००१ स १०२३ नम्बरको ई-लोडरमा लोड गरिएका भाडाकुँडा बरामद गरेको हो। चेकजाँच गर्दा उक्त सामानको कुनै बिल बिजक नभएको पाइएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीहरूमध्ये पितलको आली ११ वटा, सुपली १४ वटा, तामाको जग ८६ वटा, सानो र ठूलो लोटिया ३३७ वटा, सुराही ५ वटा, र बुस ३४ वटा रहेका छन्। साथै, उक्त ई-लोडरका चालक भारत बिहार राज्य मोतिहारी जिल्ला फुलवरिया टोल निवासी २० वर्षीय निरज कुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।
