बिरगंज ,८ बैशाख ।
वीरगंज महानगरपालिकाको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले “सेफर वीरगंज” अभियान अन्तर्गत सीसीटिभी क्यामेरा जडानका लागि रु. १७,७५,००० (सत्र लाख पचहत्तर हजार) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
उक्त अभियान वीरगंज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य संघ तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको आपसी सहकार्य र सहयोगमा सञ्चालन गरिएको हो।
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्षहरू मनोजकुमार दास र आशिषकुमार लाठ तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो।
यो अभियानले वीरगंजको सार्वजनिक सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
