काठमाडौं, जेठ २६ ।वीरगंज महानगरपालिकाको खानेपानी तथा ढल निकासी समस्या समाधानका लागि सोमबार सिंहदरबारमा आयोजित महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। खानेपानी मन्त्री प्रदीप यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंजका खानेपानी आयोजनाहरूलाई एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
छलफलले सकारात्मक नतिजा दिँदै आगामी साउन महिनाभित्र वीरगंजका खानेपानी आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गर्ने सहमति भएको छ।
कुल १२ वटा आयोजना मध्ये पहिलो चरणमा कम्तिमा ६ वटा आयोजना तत्काल सुरु गर्ने गरी काम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ। यसका लागि सबै सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइने जनाइएको छ।
खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै छलफलमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे।
सो कार्यक्रममा बिरगंज महानगरपालिका मेयर राजेशमान सिंहको पनि सहभागिता रहेको थियो ।
