बिरगंज ,१६ चैत ।
राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भएको आन्दोलनका क्रममा एक पत्रकारको हत्या र सञ्चार गृहहरूमा तोडफोड भएपछि देशभरका पत्रकारहरू विरोध प्रदर्शनमा उत्रिएका छन्।
शुक्रबार, आगजनी भएको भवनको समाचार सङ्कलन गर्ने क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। त्यस्तै, तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनीबाट क्षति पुगेको छ भने कान्तिपुर टेलिभिजनको समाचार कक्षमा ढुङ्गामुढा गरी आतङ्क मच्चाइएको छ। हिमालयन टेलिभिजनको सवारीसाधनसमेत तोडफोडको शिकार भएको छ।
यस घटनाको विरोधमा शनिबार पर्साका पत्रकारहरू पनि आन्दोलनमा उत्रिएका छन्। नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओम प्रकाश खनालको नेतृत्वमा वीरगन्जको घण्टाघरबाट निकालिएको विरोध र्याली नगर परिक्रमा गरी कोणसभामा परिणत भएको थियो।
नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठनलगायतका सञ्चारसम्बद्ध संस्थाहरूले घटनाको कडा निन्दा गरेका छन्। उनीहरूले स्वतन्त्र प्रेसको सम्मान गर्न, निर्वाध समाचार सङ्कलनको वातावरण बनाउन तथा सञ्चारकर्मी र सञ्चार गृहहरूको सुरक्षामा ध्यान दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
