बिरगंजमा भीषण सवारी दुर्घटना : दुई जनाको मृत्यु, एक गम्भीर घाइते

समाचार

पर्सा,  जेठ ३० – पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं. २२ स्थित ड्राइपोर्ट सडक खण्डको सिताराम चोकमा आज बिहान करिब ५ बजे भीषण सवारी दुर्घटना भएको छ।

भुसा लोड गरी बिग्रिएर रोकी राखिएको भारतीय नम्बर प्लेटको ट्रक (HR 55 K 3971) मा सिर्सिया तर्फबाट ड्राइपोर्टतर्फ गइरहेको मोटरसाइकल (प्रदेश ३–०४–प–८६१२) ठोक्किँदा मोटरसाइकलमा सवार तीन जना पुरुष गम्भीर घाइते भएका थिए।

घाइतेहरुलाई तत्काल उपचारको लागि नारायणी अस्पताल, बिरगंज पठाइएकोमा, उपचारको क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामसरण यादवका २३ वर्षीय छोरा रामाकान्त यादव र सोही स्थानका सुसराम यादवका २३ वर्षीय छोरा विजय यादव रहेका छन्। दुबैको मृत्यु उपचारको क्रममा बिहान ८ बजे भएको हो।

मोटरसाइकलमा सवार तेस्रो व्यक्ति, मनिका राउत अहिरका २२ वर्षीय छोरा विजयकुमार यादवको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

दुर्घटनामा संलग्न दुबै सवारीसाधन घटनास्थलमै रहेको र ट्रक चालक भने फरार रहेकोले खोजतलास कार्य जारी रहेको पर्सा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी पनि प्रहरीले दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *