पर्सा, साउन २८ । पर्साको बहुदरमाई नगरपालिका–२ मा आज साँझ आगलागी हुँदा एकजना घाइते भएका छन् भने घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।
पर्सा प्रहरीले दिएको जानकारी अनुसार बुधबार बिहान् करिब ५:१० बजे स्थानीय राजु रामको फुसको घरमा चुलामा भैसीको खोले पकाउने क्रममा अचानक आगलागी भएको हो। आगो फैलिँदै जाँदा घरसँगै जोडिएको गोठ समेत जलेको छ।
आगलागीबाट घरभित्रको लत्ता–कपडा, भाडावर्तन, अन्य सामान, गोठभित्रको भैसीको पडो र बाख्रा समेत जलेर नष्ट भएका छन्। यसक्रममा एकथान भैसीको समेत मृत्यु भएको छ।
आगो निभाउने क्रममा राजु राम घाइते भएका छन्। उनको शरीरको विभिन्न भागमा जलन भएको र उपचारका लागि अस्थायी प्रहरी चौकी बिन्दाबासिनीका प्रहरी निरीक्षक ओम प्रकाश यादवको टोलीले उद्धार गरी एम्बुलेन्समार्फत नारायणी अस्पताल पठाएको जनाइएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो करिब ६ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पर्सा प्रहरीले जनाएको छ।
