जनकपुरधाम, २७ साउन । जनकपुरधाममा मंगलबार नेपाल बार एशोसिएसनमा आबद्ध वकिलहरूको कुटपिटबाट पाँच जना पत्रकार घाइते भएका छन्। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका हुन्।
महासंघका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वर्गद्वार छेउको श्रीराम मन्दिर गुठीको चार कठ्ठा जग्गा २० वर्षका लागि वैधानिक रूपमा लिजमा लिएर कार्यालय भवन निर्माणको तयारी भइरहेको थियो। सो जग्गामा बार एशोसिएसन जनकपुरका अधिवक्ताहरूले पार्किङको बहानामा अवरोध पुर्याएपछि विवाद सुरु भएको हो।
महासंघले आरोप लगाएअनुसार, जग्गा संरक्षणका लागि तारबार लगाउने क्रममा बारका धनुषा जिल्ला अध्यक्ष विमल मिश्र नेतृत्वको समूहले आक्रमण गरी पत्रकारहरूलाई घाइते बनाएको हो।

घटनाप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा आक्रमणलाई ‘सञ्चारक्षेत्रप्रतिको बद्नियत’ भन्दै संलग्नहरूलाई तत्काल कानूनी कारबाही र घाइते पत्रकारको निःशुल्क उपचारको माग गरिएको छ।
