पर्सा, असार १७ ।
पर्सा प्रहरीले हुण्डी कारोबार नियन्त्रण गर्न चलाएको विशेष अभियान अन्तर्गत स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ। पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको नेतृत्वमा सूचनाको आधारमा गरिएको कारबाहीमा उनीहरूलाई विभिन्न स्थानबाट नगद रकमसहित नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गर्दै उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ। पक्राउ परेकाहरूलाई सम्मानित पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरू र बरामद रकमको विवरणः
१. अनिल कुमार बर्णवाल (२६ वर्ष)
- ठेगाना: पकाहामैनपुर गाउँपालिका–२, पर्सा
- पक्राउ स्थान: वीरगञ्ज महानगरपालिका–१०, मकालु चोक
- बरामद रकम:
- कालो झोलाभित्र लुकाइएको रु. ९,४७,०००
- रु. १००० दरका ३२८ थान,
- रु. ५०० दरका १२१८ थान,
- रु. १०० दरका ३०० थान
२. बिनित कुमार श्रीवास्तव (२३ वर्ष)
- ठेगाना: वीरगञ्ज महानगरपालिका–३, आदर्श टोल
- पक्राउ स्थान: कृषि विकास बैंक नजिक, लिंकरोड, वीरगञ्ज–८
- बरामद रकम:
- कालो झोलामा लुकाइएको रु. १५,८१,०००
- रु. १००० दरका ९७३ थान
- रु. ५०० दरका १२१६ थान
३. दिपक कुमार सोनार (४४ वर्ष)
- ठेगाना: परवानीपुर गाउँपालिका–४, बारा
- पक्राउ स्थान: रजत जयन्ती चोक, वीरगञ्ज महानगरपालिका–१६
- बरामद रकम:
- ना.१६ प २३२८ नम्बरको सुपर स्प्लेंडर मोटरसाइकलमा सवार अवस्थामा
- लगाएको पाइन्टको खल्तीबाट रु. ३,००,०००
- रु. १००० दरका २०० थान
- रु. ५०० दरका २०० थान
प्रहरीले बरामद गरिएको उक्त नगद रकमको वैध स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। हुण्डी कारोबार मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने गैरकानुनी कार्य भएको भन्दै प्रहरीले कडा निगरानीका साथ कारबाही अगाडि बढाएको छ।
प्रहरी प्रवक्ता डिएसपी लम्सालका अनुसार, हुण्डी कारोबार रोक्न निरन्तर निगरानी, सूचना संकलन र सक्रिय कारबाही भइरहेका छन्। अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।
पर्सा प्रहरीले पछिल्ला दिनमा आर्थिक अपराध, कालोबजारी, हुण्डी कारोबारजस्ता गैरकानुनी गतिविधिमाथि सशक्त रूपमा निगरानी गर्दै आएको छ। प्रहरीको यो सफलताले अपराध नियन्त्रणमा सशक्त सन्देश दिएको छ।
