जनकपुरधाम, असार २७। मधेश प्रदेश सरकारले पानीको चरम अभाव र खडेरीको गम्भीर प्रभावलाई ध्यानमा राख्दै प्रदेशलाई औपचारिक रूपमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले वातावरणीय असन्तुलनका कारण समयमै वर्षा नहुनु, धान रोपाइँमा समस्या उत्पन्न हुनु र रोपिएका खेत सुक्न थालेको अवस्था लक्षित गर्दै यस्तो निर्णय लिएको हो।
बैठकले सुख्खाग्रस्त घोषित प्रदेशका किसानहरूलाई लक्षित गर्दै विशेष राहत प्याकेज ल्याउन संघीय सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ। साथै, कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई समेत आवश्यक सहयोग गर्न आह्वान गरिएको छ।
त्यसैगरी, बैठकले पर्साको वीरगंज लगायत मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत–साधन परिचालन गर्ने निर्णय गरेको छ। संघीय खानेपानी मन्त्रालयसँग आवश्यक सहयोग माग्दै, ट्याङ्करलगायत विभिन्न माध्यमबाट तत्काल पानी आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता प्रदेश सरकारले औपचारिक रूपमा औंल्याएको छ।
मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकले तत्काल प्रभावकारी कदम चाल्दै नागरिकको जीवनरक्षाका लागि आवश्यक सबै स्रोत परिचालन गर्न निर्देशनसमेत दिएको छ।
