पर्सा, साउन १० ।
पर्सा जिल्लामा निरन्तर वर्षा नपरेपछि उत्पन्न भएको खडेरी र पानीको चरम अभावलाई ध्यानमा राख्दै स्थानीय मुस्लिम समुदायले आज विशेष धार्मिक प्रार्थना ‘इस्तिस्का’ नमाज अदा गरेका छन्। पोखरिया नगरपालिका–९ स्थित बैरिया र वीरगञ्ज महानगरपालिका–१७ औलौका खुला खेतमा बिहान १० बजेको समयमा सयौंको संख्यामा नागरिक सहभागी भई नमाज अदा गरिएको हो।
‘इस्तिस्का’ नमाज इस्लाम धर्ममा वर्षाका लागि गरिने विशेष धार्मिक प्रार्थना हो, जुन आपत्कालीन खडेरी, सुख्खा र पानीको अभावमा सामूहिक रूपमा खुला ठाउँमा अदा गरिन्छ।
यस धार्मिक क्रियाकलापमा सहभागीहरूले दुई रकात विशेष नमाज पढेपछि आकाशतर्फ हात उठाएर अल्लाहसँग बिनम्रतापूर्वक पानीको लागि दुवा गरे। दुवामा उनले प्रार्थना गर्दै भने —
“या अल्लाह! हाम्रो दुवा स्वीकार गर, आफ्नो रहमत स्वरूप पानी दे। हामी तिमीमाथि भरोसा गर्छौं, तिमी नै सम्पूर्ण सृष्टिका मालिक हौ। गाई–भैंसी, जीवजन्तु, जमिन, बोटबिरुवा र मानवहरू सबै पानीको प्यासले तडपिरहेका छन्। कृपया हाम्रो विन्ती स्वीकार गर र पानीको वर्षा गर, वर्षाको वर्षा गर।”
पछिल्ला केही हप्तायता पर्सा जिल्लासहित मधेसका अधिकांश भागहरूमा वर्षा नपरेको, तापक्रम अत्यधिक बढेको र धान रोप्न नपाएको अवस्था उत्पन्न भएपछि किसानहरू चिन्तित छन्। यसले कृषि, पशुपालन र दैनिक जनजीवनमा प्रतिकूल असर पारेको छ।
स्थानीय मुस्लिम समुदायका अगुवा, समाजसेवी र युवाहरूको अग्रसरतामा आयोजित उक्त प्रार्थना कार्यक्रममा धार्मिक भावनाले ओतप्रोत वातावरण देखिएको थियो। सहभागीहरूले पानीका लागि मात्र नभई सम्पूर्ण देशवासीका सुख, शान्ति र समृद्धिका लागि पनि सामूहिक रूपमा दुवा गरेका थिए।
स्थानीय बासिन्दाहरूले विश्वास व्यक्त गर्दै भने, “हामीले सच्चा मनले अल्लाहसँग पानीको लागि प्रार्थना गरेका छौं। अब वर्षा हुनेछ भन्ने आशा छ।”
धार्मिक परम्पराअनुसार, ‘इस्तिस्का’ नमाज कठिन समय र प्राकृतिक संकटका बेला सामूहिक रूपमा अदा गरिन्छ, जसले आध्यात्मिक शान्ति मात्र नभई सामूहिक चेतना र सहकार्यको पनि सन्देश दिन्छ।
मुस्लिम समुदायको यस पहललाई धेरैले सकारात्मक रूपमा लिएका छन् र संकटको बेलामा एकअर्काप्रति सहयोग र सहानुभूतिका भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
