काठमाडौं,३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत चिकित्सा शिक्षा क्षेत्रमा सरकारले लिएको ऐतिहासिक निर्णयबारे जानकारी दिएका छन् । उनका अनुसार, गत वर्ष मात्र स्नातक तहको चिकित्सा शिक्षा अध्ययनका लागि १,६५५ नेपाली विद्यार्थीले विदेश जाने अनुमति पत्र लिएका थिए भने अन्य विषय पढ्न जानेको संख्या दशौं हजारमा पुगेको छ । यसले देशलाई ठूलो मात्रामा आर्थिक नोक्सानी मात्र नभई युवाशक्ति र भविष्यको सम्भावना पनि विदेश पलायन भएको तथ्य उजागर गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
विद्यार्थीलाई आफ्नै देशमै चिकित्सक बन्ने अवसर दिलाउने उद्देश्यसहित चिकित्सा शिक्षा आयोगले हिजो गरेको निर्णयअनुसार नेपालमै एमबीबीएस, बीडीएस, बी फर्मा, डीएम, एमसीएच लगायत तहमा १,३५९ अतिरिक्त सिट थप गरिएको छ । यस कदमसँगै शुल्कमा मात्रै ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रकम विदेशिनबाट रोकिने प्रधानमन्त्री ओलीले बताएका छन् ।
उनी भन्छन्, “यस निर्णयले हरेक वर्ष चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने करिब साढे तीन अर्ब रुपैयाँ देशभित्रै रहनेछ, परिवार छोडेर परदेशिनुपर्ने बाध्यता कम हुनेछ, र नेपालमै सक्षम चिकित्सक तयार हुने मार्ग प्रशस्त हुनेछ।”
प्रधानमन्त्री ओलीले यसलाई गलत अर्थ लगाउने प्रयास भइरहेको उल्लेख गर्दै संसद्मा पनि पेशेवर ‘मास म्यानुपुलेसन’को कुरा उठाएको स्मरण गराए । उनका अनुसार, यो कदमले राष्ट्र र युवाको भविष्यलाई लाभान्वित गर्ने भएकाले देशलाई माया गर्ने कसैलाई पनि बेफाइदा छैन ।
