मधेस प्रदेश, १२ भदौ ।
सशस्त्र प्रहरी बल, मधेस प्रदेशका प्रमुख डिआइजी कृष्ण ढकालको सक्रियतामा सञ्चालन गरिएको तस्करी नियन्त्रण अभियानले निरन्तरता पाउँदै ठूलो सफलता हात पारेको छ । अभियान अन्तर्गत महोत्तरी र पर्सा जिल्लामा गरी करिब ६५ लाख ७५ हजार ७३६ रुपैयाँ बराबरको अवैध सामान तथा सो को ढुवानीमा प्रयोग भएका सवारी साधन बरामद गरिएको छ । बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
महोत्तरीमा संचार सामग्री बरामद
भदौ ९ गते महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ स्थित रातु खोलाको बगर इलाकामा तैनाथ सुरक्षा बेस बेश भंगाहा र पशुपतिनगरका सशस्त्र टोलीले संयुक्त रूपमा ठूलो मात्रामा संचार सामग्री बरामद गरेको हो । सो कारबाहीमा ४६ लाख ५० हजार रुपैयाँ बराबरको संचार सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ ।
पर्सामा कपडा, किराना सामान र मोटरसाइकल
यस्तै, पर्सा जिल्लामा सशस्त्र प्रहरीले थप अवैध सामान बरामद गरेको छ । मिति २०८२ भदौ ११ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१० अशोक बाटिकास्थित एक घरमा छापा मार्दा ठूलो मात्रामा अवैध सामान फेला पारेको हो ।
भारतबाट भन्सार छली गरी ल्याएर भण्डारण गरिएको कपडा, किराना सामग्री तथा Afzal Double Apple Flavour लगायतका सामग्री बरामद गरिएको छ । साथै, सो सामान ढुवानीमा प्रयोग गरिएको BR २२ S ०७०१ नम्बरको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । बरामद सामान तथा मोटरसाइकलको भन्सार मूल्यांकन १९ लाख २५ हजार ७३६ रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको प्रतिबद्धता
बरामद गरिएका सामान र सवारी साधनहरू आवश्यक प्रक्रिया पूरा गरी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
तस्करी नियन्त्रण अभियानबारे मधेस प्रदेश प्रमुख डिआइजी कृष्ण ढकालले भन्नुभयो – “तस्करी नियन्त्रणमा कुनै किसिमको सम्झौता गरिने छैन । सीमा सुरक्षामा फौजलाई अझ चुस्त बनाएर खटाइनेछ । आम सर्वसाधारणको जनधनको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ प्रतिबद्ध रहनेछ ।”
यससँगै, मधेस प्रदेशमा सशस्त्र प्रहरीको निरन्तर प्रयासले तस्करी नियन्त्रण र सीमा सुरक्षामा ठोस परिणाम देखिन थालेको देखिन्छ ।
