पर्सामा सशस्त्र प्रहरीद्वारा अवैध सामानसहित ई–रिक्सा र मोटरसाइकल बरामद

समाचार

पर्सा, ३१ भदौ ।
सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा. पर्साको टोलीले आज बिहान पर्साको विभिन्न स्थानबाट अवैध सामानसहित ई–रिक्सा र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको गस्ती टोलीले बिहान ७:५० बजे वीरगञ्ज महानगरपालिका–१४, गण्डकचोक नजिक भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरेको हो। टोलीले प्रदेश–२–०३–००१ ह ८३९ नम्बरको ई–रिक्सामा लुकाइ ल्याउँदै गरिएको करिब ५० हजार ४०० रुपैयाँ बराबरको पर्दा र ३ लाख रुपैयाँ बराबरको ई–रिक्सा नियन्त्रणमा लिएको थियो। तर, संलग्न व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान र ई–रिक्सा बिहान १० बजे वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यस्तै, बिहान ११ बजे पर्सा जिल्लाको पकाहामैनापुर गाउँपालिका–५, लक्ष्मीपुर नजिक सीमा क्षेत्रमा खटिएको स.प्र.ना.नि. अनिलकुमार ठाकुरको कमाण्डमा रहेको ४ जनाको मोटरसाइकल गस्ती टोलीले टाउकामा बोकी ल्याउँदै गरिएको करिब ५४ हजार १५० रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको छ। उक्त सामान हाल गुल्ममा राखी भन्सार बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट डिएसपी कृष्णसिंह पुजाराको कमाण्डमा खटिएका टोलीले करिब १ लाख ४१ हजार रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गरी भन्सार बुझाइएको छ।

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार रोक्न निरन्तर अभियान चलाइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *