काठमाडौं, १६ कात्तिक ।
जिल्ला काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानस्थित एक घरमा पैसाको हारजित हुने गरी सट्टेवाजी कौडा खेलिरहेको अवस्थामा ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १६ गते राति करिब २:०० बजे, प्राप्त गोप्य सूचनाको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उक्त घरमा छापा मार्दा ६ जनालाई नगद रु. १,७२,०५० (अक्षरेपी एक लाख बहत्तर हजार पचास) सहित नियन्त्रणमा लिएको हो। प्रहरीले खेलमा प्रयोग भएका कौडा १६ थान समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूमा—
१. काठमाडौं चन्द्रागिरी नगरपालिका–६ की सरिता गिरी (वर्ष ४४),
२. मकवानपुर थाहा नगरपालिका–१२ घर भई चन्द्रागिरी–३ बस्ने राजु लामा (वर्ष ३२),
३. धादिङ गल्छी गाउँपालिका–४ घर भई सोही क्षेत्रमा बसोबास गर्ने नारायण अधिकारी (वर्ष ३६),
४. धादिङ धुनिबेसी नगरपालिका–६ घर भई त्यही बस्ने मिलन तमाङ (वर्ष ३१),
५. काठमाडौं चन्द्रागिरी नगरपालिका–७ घर भएका शनि खड्का (वर्ष ३४), र
६. मकवानपुर थाहा नगरपालिका–१२ घर भएका सम्राट स्याङ्तान (वर्ष २७) रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूमाथि जुवातास (निषेध तथा नियन्त्रण) सम्बन्धी कानूनी प्रक्रिया अगाडि बढाइएको छ।
