वीरगञ्ज, १६ कार्तिक।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रलाई स्वच्छ, हराभरा र आकर्षक बनाउने उद्देश्यले सरसफाइ तथा सौन्दर्यकरण अभियानको शुभारम्भ गरिएको छ।
यो अभियान वीरगञ्ज महानगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण हे.क्वाटर वीरगञ्ज, र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०, वीरगञ्जको संयुक्त आयोजनामा सुरु गरिएको हो।
अभियान अन्तर्गत मितेरी पुल वरपरको क्षेत्र सफाइ, हरियाली विस्तार तथा सौन्दर्यकरण गरी शहरलाई स्वच्छ र व्यवस्थित बनाउन योगदान पुर्याउने उद्देश्य रहेको आयोजकहरूले जनाएका छन्।
कार्यक्रममा स्थानीय समुदाय, सशस्त्र प्रहरी तथा नगरपालिकाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले नियमित सरसफाइ र हरियाली अभियानले वीरगञ्जलाई थप सुन्दर र स्वस्थ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्।
