बारा,३० कार्तिक ।
जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाका आधारमा गरिएको संयुक्त कारबाहीमा ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ कार्तिक २९ गते साँझ ३ः४० बजे इलाका प्रहरी कार्यालय सिमरा बाराका प्रहरी नायब निरीक्षक दिपक कुमार बस्तेनको कमाण्डमा खटिएको टोली तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट गएको संयुक्त टोलीले जीतपुर सिमरा उप–महानगरपालिका–५ लल्का पुल नजिक पथलैया तर्फ पैदल आइरहेका दुई महिलालाई शंका लागेपछि रोकेर चेकजाँच गरेको थियो।
जाँचका क्रममा एक महिला सुसिला देवीको साथबाट ७ पुरियामा राखिएको ४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर जस्तै देखिने खैरो धुलो बरामद भएको प्रहरीले जनाएको छ। सो क्रममा उक्त कार्यमा संलग्न रहेको आरोपमा अर्की महिला पुजा देवीलाई समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेहरू:
१. सुसिला देवी, उमेर ३५ वर्ष, बसोबास– पर्सा, पटेर्वा सुगौली गाउँपालिका–६
२. पुजा देवी, उमेर ३० वर्ष, बसोबास– पर्सा, पोखरिया नगरपालिका–७
बरामद लागुऔषधसहित दुवै महिलामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
