बारा सशस्त्रद्वारा तस्करी नियन्त्रण अभियान तीव्र, ६ लाख ५० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद

समाचार

बारा, ३० कार्तिक ।
बारा जिल्लामा सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै विभिन्न सीमा नाकाबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल बाराका एसपी खुमबहादुर केसीको नेतृत्वमा सञ्चालित अभियानअन्तर्गत विभिन्न मितिमा  करिब रु ६ लाख ५० हजार बराबरका विभिन्न सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका विभिन्न बी.ओ.पी.बाट खटिएका टोलीहरूले भारततर्फबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको कपडा, किराना सामान, औषधि तथा मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छन्। घटनाहरू यसप्रकार छन्—


१. अमरपुर सीमा इलाकाबाट मोटरसाइकल  र कपडा बरामद (रु १,५२,५००)

मिति २०८२/०७/२९ गते अं. १५:२० बजे, सिम्रौनगढ नगरपालिका–६ अमरपुर नजिकको सीमा क्षेत्रमा बी.ओ.पी. गोलागञ्जबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक प्रशान्त अर्यालको टोलीले भारतबाट मोटरसाइकलमा अवैध रूपमा ल्याइँदै गरेको रु १,५२,५०० बराबरको कपडा र मोटरसाइकल बरामद गरेको छ।


२. कोरैया क्षेत्रबाट कपडा तथा मोटरसाइकल  नियन्त्रण (रु १,३५,०००)

मिति २०८२/०७/२९ गते दिउँसो अन्दाजी १२:४० बजे, सुवर्ण गाउँपालिका–७ कोरैया नजिक बी.ओ.पी. सनफुलवाका सशस्त्र प्रहरी नायव निरीक्षक शिवशंकर पराजुलीको टोलीले भारतबाट मोटरसाइकलमार्फत तस्करी गरी ल्याइँदै गरेको रु ३५,००० बराबरको कपडा र रु १,००,००० बराबरको मोटरसाइकल सहित रु १,३५,००० मूल्य बराबरका सामान बरामद गरेको हो।


३. सतगंज सीमा इलाकाबाट सिरायुक्त सामान बरामद (रु ७५,४५०)

मिति २०८२/०७/३० गते बिहान ०६:४० बजे, सुवर्ण गाउँपालिका–३ सतगंज क्षेत्रमा बी.ओ.पी. कवहिगोठबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक विश्वराज कार्कीको टोलीले मानिसहरूले टाउकोमा बोक्दै नेपालतर्फ ल्याइँदै गरेका रेडिमेड सारीका कपडा, किराना सामान, सिध्रा लगायतका रु ७५,४५० बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको छ। प्रहरीले नजिकै परित्याग गरिएको अवस्थामा सामान बरामद गरेको र संलग्न व्यक्ति फरार भएको जनाएको छ।


४. भवानिपुरबाट अवैध मो.सा. र किराना सामान बरामद (रु १,५५,८००)

मिति २०८२/०७/३० गते बिहान ०७:०० बजे, पचरौता नगरपालिका–७ भवानिपुर नजिक बी.ओ.पी. बेनौलीबाट सशस्त्र प्रहरी नायव निरीक्षक श्यामानन्द चमारको टोलीले मोटरसाइकलमार्फत नेपाल भित्र्याइँदै गरेका रु ३५,८०० बराबरका किराना तथा खाद्यान्न सामग्री र रु १,२०,००० बराबरको मो.सा. गरी रु १,५५,८०० मूल्यका सामान बरामद गरेको छ।


५. बलिरामपुरबाट औषधि तथा मोटरसाइकल  (रु १,३३,०००)

मिति २०८२/०७/३० गते बिहान ०८:५० बजे, विश्रामपुर गाउँपालिका–४ बलिरामपुर सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल एफ.ओ.बी. बलिरामपुरका नायव निरीक्षक सुर्यप्रसाद रेग्मी नेतृत्वको टोलीले मोटरसाइकलमा ल्याइँदै गरेको FORACORT ROTACAPS नामक औषधि रु ३३,००० मूल्य बराबर तथा रु १,००,००० मूल्य बराबरको मो.सा. सहित रु १,३३,००० मूल्यका सामान बरामद गरेको छ।


सशस्त्र प्रहरीले बरामद सबै सामग्री आवश्यक प्रक्रिया पूरा गरी आजै सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाएको छ।
सीमावर्ती क्षेत्रमा तस्करी गतिविधि बढ्दै गएपछि सशस्त्र प्रहरी बलले निगरानी र गस्ती थप कडा पारेको एसपी खुमबहादुर केसीले जानकारी दिएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *