बिरगंज ,३० कार्तिक । सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजले सिमावर्ती क्षेत्रमा सुरक्षा चुनौतिहरू न्यूनीकरण तथा जनसहभागितामूलक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउने उद्देश्यले सिमावासीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बिरगंज भन्सारको सभा हलमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) माधव प्रसाद पौडेल, स्थानीय भद्रभलादमी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा बिरगंज गुल्मका गुल्मपति डिएसपी पुरुषोत्तम भण्डारीले सिमावर्ती क्षेत्रमा चोरी–तस्करी नियन्त्रण, सीमा पार अपराध रोकथाम, शान्ति–सुरक्षा कायम तथा सिमावासीको गुनासो बुझ्दै सुझाव संकलन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिए। उनले सुरक्षा निकाय मात्रले मात्र सीमाको संवेदनशीलता सामना गर्न नसक्ने भन्दै स्थानीय समुदायको सक्रिय भूमिका अपरिहार्य हुनेमा जोड दिए।
“सिमावर्ती सुरक्षामा जनसहभागिता अनिवार्य” – वडा अध्यक्ष चौरसिया
बिरगंज महानगरपालिका–१६ का वडा अध्यक्ष प्रशुराम चौरसियाले सिमामा हुने चोरी–तस्करी, लागू औषध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा स्थानीयवासी सदैव सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न तयार रहेको स्पष्ट धारणा राखे।
उनले भारतसँगको खुला सिमाका कारण लागू औषध नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै सिमासम्बन्धी सुरक्षा रणनीति अझ प्रभावकारी बनाउन सुझाव दिए।
त्यस्तै, चेली–बेटीको सम्बन्ध र सांस्कृतिक तथा सामाजिक निकटताका कारण सीमा नाकामा विवाह लगायतका विशेष परिस्थितिलाई ध्यानमा राखेर सुरक्षाकर्मीहरूले मानवियता र लचकता अपनाउनुपर्ने वडाध्यक्ष चौरसियाको आग्रह थियो।
“विवाहका अवसरमा भारततर्फबाट खरिद गरिएका सामानहरू नेपाल ल्याउँदा अनावश्यक झन्झट र असहजता नहोस्,” उनले भने, “स्थानीयवासीको पीडा बुझ्दै सुरक्षाकर्मीहरूले उचित सहजता प्रदान गर्नुपर्छ।”
स्थानीयवासीको प्रतिबद्धता : ‘शान्ति–सुरक्षाका लागि हातेमालो’
कार्यक्रममा सहभागी स्थानीयवासीले समेत चोरी–तस्करी नियन्त्रण, लागू औषध कारोबार रोकथाम तथा सामाजिक सुरक्षाको वातावरण सृजनामा सुरक्षाकर्मीहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिले समाजमै नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै, सुरक्षाकर्मी र समुदायबीचको सहकार्यले मात्र संवेदनशील क्षेत्रका समस्या समाधान हुने बताए।
एसएसपी पौडेलको प्रतिवद्धता : “जनताको सुरक्षामा सशस्त्र प्रहरी निरन्तर”
कार्यक्रमको समापन गर्दै सशस्त्र प्रहरीका एसएसपी माधव प्रसाद पौडेलले सिमावर्ती सुरक्षा संवेदनशील विषय भएको उल्लेख गर्दै सशस्त्र प्रहरी बल नेपाल देश–समाज र सीमावासीको सुरक्षाका लागि निरन्तर खटिने प्रतिवद्धता दोहोर्याए।
“सुरक्षाकर्मी जनताको सेवामा सधैं समर्पित छन्,” उनले भने, “स्थानीयवासीसँगको सहकार्यले मात्रै शान्ति–सुरक्षाको वातावरण अझ मजबुत बन्छ।”
अन्तरक्रिया कार्यक्रमले सुरक्षा निकाय र स्थानीय समुदायबीचको दूरी घटाउँदै सहकार्यको वातावरण निर्माण गरेको छ। चोरी–तस्करी तथा सीमा अपराध नियन्त्रणमा स्थानीय–सुरक्षाकर्मी साझेदारी प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
