पर्सा–१ मा जनमत पार्टीका युवा उम्मेदवार ओमप्रकाश सरार्फको नगवामा भव्य कार्यक्रम

समाचार

वीरगन्ज, माघ १० ।
पर्सा क्षेत्र नम्बर–१ मा जनमत पार्टीको चुनावी गतिविधि तीव्र बन्दै गएको छ। सोही क्रममा आज वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ अन्तर्गत नगवा दक्षिण टोलमा जनमत पार्टीको चुनावी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा जनमत पार्टीका प्रतिनिधि सभा सदस्य युवा उम्मेदवार ओमप्रकाश सरार्फलाई स्थानीयवासीहरूले फूलमाला लगाएर भव्य स्वागत गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार सरार्फले नगवा र वडा नम्बर–१६ लाई विगतका नेताहरूले भोट बैंकको रूपमा मात्रै प्रयोग गरेको आरोप लगाउँदै नगवा र इनर्वा क्षेत्र लामो समयदेखि विभेद र अन्यायमा परेको बताए।

उनले आफ्नो चुनाव चिन्ह ‘हरन छाप’ मा मतदान गरी विजयी गराएमा वडा नम्बर–१६ को समग्र विकास गर्दै कायापलट गर्ने प्रतिबद्धता व्यक्त गरे। सरार्फले आफू राजनीति तथा सामाजिक गतिविधिमा निरन्तर सक्रिय युवा भएको उल्लेख गर्दै युवाको हक, हित र उत्थानका लागि सधैं संघर्षरत रहेको बताए। उनले जेन्जी पुस्ताको प्रतिनिधित्व गर्ने सक्षम र ऊर्जावान उम्मेदवार आफू रहेको दाबी गरे।

हाल उम्मेदवार सरार्फ निरन्तर घरदैलो कार्यक्रम तथा निर्वाचन लक्षित विभिन्न गतिविधिमा सक्रिय रहेको देखिएको छ।

कार्यक्रम जनमत पार्टीका बुथ इन्चार्ज किरण चौर्सियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टी नेता विद्यालाल प्रसाद, निराजन कुशवाहा, भुपेन्द्र साह, सत्युह साह, सहनवाज राकी लगायतको उपस्थिति रहेको थियो भने स्थानीयवासीहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *