वीरगंज ,१० माघ। नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई संरक्षण र जगेर्ना गर्ने उद्देश्यसहित वीरगंज महानगरपालिकाले रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ। उक्त अभियानको पहिलो चरणस्वरूप आज वीरगंजको बीपी उद्यान नजिक उत्तरतर्फ रहेको प्रस्तावित स्थलमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
नेपालमा रेल सेवाको सुरुवात वीरगंजबाटै भएको ऐतिहासिक तथ्यलाई भावी पुस्तासम्म जीवित राख्ने लक्ष्यका साथ यो संग्रहालय निर्माण गर्न लागिएको हो। देशको यातायात इतिहाससँग गाँसिएको यो स्मृतिलाई सम्मान गर्ने भावनात्मक र गौरवपूर्ण प्रयासको रूपमा रेल संग्रहालयलाई हेरिएको छ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा अघि बढाइएको यस पहलअन्तर्गत संग्रहालय स्थललाई स्वच्छ, व्यवस्थित तथा संग्रहालययोग्य बनाउँदै ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनतर्फ अर्थपूर्ण सुरुवात गरिएको महानगरपालिकाले जनाएको छ।
रेल संग्रहालय स्थापना भएपछि नेपालमा रेल सेवाको प्रारम्भ, त्यसको विकासक्रम तथा ऐतिहासिक महत्वलाई प्रत्यक्ष अवलोकन गर्न सकिने विश्वास लिइएको छ। यसले वीरगंजको ऐतिहासिक पहिचानलाई अझ सुदृढ बनाउनुका साथै राष्ट्रिय गौरवका विषयलाई नयाँ पुस्तामाझ गर्वका साथ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
महानगरपालिकाले यो अभियानलाई सफल बनाउन सबै वीरगंजबासीलाई एकताबद्ध भई साथ दिन आग्रह गर्दै, रेल संग्रहालयलाई मूर्तरूप दिने साझा जिम्मेवारी वहन गर्न आह्वान गरेको छ।
