वीरगञ्ज, ६ जेठ । विगो भरिभराउ मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा फैसला कार्यान्वयन अभियान अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार वीरगञ्ज महानगरपालिका–२० क्षेत्रमा लुकिछिपी बस्दै आएका फरार प्रतिवादी अनुप महतोलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२० निवासी ५० वर्षीय अनुप महतो रहेका छन्। उनलाई सम्मानित पर्सा जिल्ला अदालतको फैसलाले विगो भरिभराउ मुद्दामा २ वर्ष कैद सजाय तोकेको थियो।
प्रहरीले महतोलाई नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिएका छन्।
पर्सा प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयन अभियानलाई तीव्र बनाउँदै आएको जनाएको छ।
