पर्सामा सशस्त्र प्रहरीको तस्करी नियन्त्रण अभियान तीव्र : एकै दिन रु. १२ लाखभन्दा बढीका सवारी साधन र सामान बरामद, भन्सार बुझाइयो

समाचार

वीरगञ्ज, असार २२।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले पर्सा जिल्लामा सीमा क्षेत्र हुँदै हुने अवैध तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै एकै दिन रु. १२ लाखभन्दा बढी मूल्यका विभिन्न सवारी साधन तथा तस्करीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका सामानहरू विभिन्न स्थानबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।

सशस्त्र प्रहरीका अनुसार मिति २०८३ असार २२ गते जिल्लाका विभिन्न सीमा क्षेत्र तथा मुख्य नाकाहरूमा परिचालित टोलीहरूले छुट्टाछुट्टै स्थानमा चेकजाँच तथा निगरानीका क्रममा तस्करीका सामग्री नियन्त्रणमा लिएका हुन्।

सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको करिब रु. १ लाख ७० हजार बराबरको किराना सामान बरामद गरेको थियो।

त्यसैगरी वीरगञ्ज महानगरपालिका–२ स्थित इदगाह चोक क्षेत्रमा भारतबाट भन्सार छली गरी म.प्र. ३–००१ ह ३४५१ नम्बरको अटोमा लोड गरेर ल्याइँदै गरेको अटोसहित विभिन्न कपडा गरी करिब रु. ४ लाख ३५ हजार बराबरको सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोक क्षेत्रमा भारतबाट BR05AA 2273 नम्बरको भारतीय मोटरसाइकलमा ल्याइँदै गरेको रु. १ लाख ९५ हजार बराबरको मेडिकल सामग्रीसहित मोटरसाइकल बरामद गरिएको छ।

भन्सार मेनगेट क्षेत्रमै गरिएको अर्को कारबाहीमा टाँगासहित घोडी, कस्मेटिक सामग्री तथा रेनकोट गरी रु. १ लाख १६ हजार ४ सय बराबरको सामान नियन्त्रणमा लिइएको छ।

यसैबीच नं. १३ गण मातहत रहेको सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले मोटरसाइकलसहित रु. १ लाख ३९ हजार ६ सय बराबरको विभिन्न सामान बरामद गरेको जनाएको छ।

बरामद गरिएका यी सबै सवारी साधन तथा सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ७:१० बजे वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

त्यसैगरी गण मातहतका अन्य सुरक्षा इकाइहरूले पनि भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका रु. २ लाख ८ हजार ४ सय ४० बराबरका विभिन्न सामान बरामद गरी सोही दिन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएका छन्।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने अवैध आयात, राजस्व छलि तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै नियमित रूपमा निगरानी, चेकजाँच र विशेष अपरेशन सञ्चालन गरिरहेको जनाएको छ। सीमा नाकाहरूमा सुरक्षा सतर्कता बढाइएकाले तस्करीमा संलग्न व्यक्ति तथा समूहविरुद्ध कानुनबमोजिम कारबाहीलाई अझ प्रभावकारी बनाइने सशस्त्र प्रहरीको भनाइ छ।

सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियानका कारण पछिल्लो समय सीमा क्षेत्रबाट हुने अवैध कारोबारमा उल्लेखनीय नियन्त्रण देखिन थालेको सुरक्षा अधिकारीहरूको दाबी छ। साथै, राजस्व चुहावट रोक्न, सीमा सुरक्षा सुदृढ बनाउन तथा आर्थिक अपराध नियन्त्रण गर्न यस्ता अभियान आगामी दिनमा अझ सशक्त रूपमा निरन्तर सञ्चालन गरिने सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *